भदौ २५, काठमाडौँ /भक्तपुरमा महामारीका रुपमा डेङ्गु रोग फैलिँदै गएका बेला सांसद महेश बस्नेत लामखुट्टे मार्ने मेसिन लिएर मनहराको सुकुम्बासी बस्ती पसेका छन्।

केहि दिन देखि डेङ्गु विरुद्धको अभियानमा सक्रिय रहेका सांसद बस्नेत बुधबार लामखुट्टे मार्ने मेसिन सहित मनहराको सुकुम्बासी बस्ती पसेका हुन्।
पूर्वमन्त्री समेत रहेका सांसद बस्नेत केहि दिन देखि विषादी छर्किदै हिड्ने गरेका छन्। आफ्नो क्षेत्रमा डेङ्गु नफैलियोस् भन्नको लागि बस्नेत लामखुट्टे मार्ने मेसिन सहित अभियानमा सक्रिय छन्।

सांसद बस्नेतको सक्रियतामा भैरहेको यस अभियानमा दुई वटा मेसिन प्रयोग हुँदै आएको छ। बस्नेतका अनुसार कोरियन कम्पनीबाट निर्मित यी मेसिनहरुको मूल्य एक लाख २५ हजार रुपैया पर्न आउँछ।

बस्नेत स्थानीयहरुको सहयोगमा लामखुट्टे बढि हुने बस्ती, पानी जमेका ठाउँ,मोटर ग्यारेज, टायरहरु भएको ठाउँ पुगेर लामखुट्टे मार्ने काममा सोमबार देखि सक्रिय छन्। डेङ्गुको कारण एक साताको अवधिमा भक्तपुर जिल्लामा ९९ जना बिरामीमा डेङ्गु रोग भएको पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा आज बिहानसम्ममा ९९ जना बिरामीमा डेङ्गु रोग रहेको पुष्टि भएको जानकारी दिए । यो रोगको सङ्क्रमण बढ्दै गएको बताउँदै उनले अहिले प्रत्येक टोल, गल्ली र विद्यालयहरु डेङ्गु रोगको जोखिममा रहेको बताए ।
यता भक्तपुर नगरपालिका क्षेत्रमा मात्रै ४० जना डेङ्गु रोगका बिरामी फेला परिसकेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । उनले भक्तपुर नगरपालिका क्षेत्रभित्रका ३७ र यहाँ आएका अन्य क्षेत्रका तीन जना गरी ४० जनामा डेङ्गु रोग भएको बताए ।


Your Views
Related News